नियम
अस्थायी इजाजतपत्र सम्बन्धी व्यवस्था
(१) सार्वजनिक निर्माण कार्य गर्नको लागि ऐनको दफा ६ बमोजिम अस्थायी इजाजतपत्र पाउन सक्ने विदेशी निर्माण व्यवसायीले सार्वजनिक निर्माण कार्य गर्ने अस्थायी इजाजतपत्र लिन चाहेमा अनुसूची–६ बमोजिमको ढा“चामा समिति समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएपछि त्यस्तो दरखास्तवाला निर्माण व्यवसायीको आर्थिक तथा प्राविधिक योग्यता जाँचबुझ गरी माग बमोजिम अस्थायी इजाजतपत्र दिन मनासिव देखेमा समितिले सोही बमोजिमको सिफारिस नेपाल सरकार समक्ष गर्नेछ ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि समितिले दरखास्तको जाँचबुझ गर्दा कुनै थप कागजात माग गर्नु पर्ने देखेमा दरखास्तवाला निर्माण व्यवसायीलाई थप कागजात पेश गर्न लगाउन सक्नेछ ।
(४) उपनियम (२) बमोजिम अस्थायी इजाजतपत्रको लागि समितिबाट सिफारिस भई आएमा नेपाल सरकारले अनुसूची–२ बमोजिमको अस्थायी इजाजतपत्र दस्तुर लिई अनुसूची–७ बमोजिमको ढाँचामा दरखास्तवाला निर्माण व्यवसायीलाई अस्थायी इजाजतपत्र दिनेछ ।